काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार एक सुचना जारी गर्दै पूर्व–योग्य सुरक्षामूलक मिन्टिङ कम्पनीहरूबाट सिक्काको डिजाइन, टकमारी, आपूर्ति तथा डेलिभरीका लागि सिलबन्दी बोलपत्र माग गरेको हो ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाबाट सिक्का उत्पादनका लागि बोलपत्र आह्वान गरेको जनाएको छ ।
पूर्व–योग्य बोलपत्रदाताले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार विभागबाट बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन् । कागजात खरिदका लागि २० हजार रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो गैरफिर्ता हुने दस्तुर तोकिएको छ ।
बोलपत्रसम्बन्धी कागजात कात्तिक १७ सम्म खरिद गर्न सकिनेछ ।




