काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा लगातार दोस्रो दिन पनि ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको थियो। यससँगै पछिल्ला दुई कारोबार दिनमै सुनको मूल्य १२ हजार २ सय रुपैयाँले बढेको छ।
चाँदीको मूल्य पनि बढ्ने क्रम जारी रहेको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५ सय ७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन पनि चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ४ सय ७५ रुपैयाँ पुगेको थियो।




