काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले काठमाडौँ राउण्ड टेबल- १ मार्फत त्रिनेत्र फाउन्डेसनलाई उक्त सहयोग उपलब्ध गराएको हो।
कम्पनीका अनुसार नवनिर्मित आवासीय भवनमा ६० जनासम्म दृष्टिविहीन बालबालिकाले सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबास गर्न सक्नेछन्। भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवासीय सुविधा समावेश गरिएका छन्।
यसअघि त्रिनेत्र फाउन्डेसनले सीमित स्रोत-साधनका बीच भाडाको सानो घरबाट सेवा सञ्चालन गर्दै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता विस्तार हुने अपेक्षा गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने कार्यलाई पनि प्राथमिकता दिएको बताए। उनले त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा र आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अभियानमा सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको उल्लेख गरे।
नेपाल लाइफ इन्स्योरेन्सले जिम्मेवार व्यावसायिक अभ्यास तथा प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत जीवन बीमा सेवासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।




