काठमाडौं । आज शुक्रबार देखि सुरु हुन लागेको संघीय संसद्को बजेट अधिवेशनको बैठक दिउँसो १ बजे बोलाइएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउने छन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ । बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।




