काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशमा गएका युवाहरूलाई नेपालमा काम गर्ने वातावरण सरकारले बनाउने बताएका छन् । काठमाडाैंको भृकुटीमण्डपमा आयोजित एमालेको युथ सेलिब्रेसन कार्यक्रममा महासचिव पोखरेलले विदेशमा सिकेको सीप स्वदेशमा सदुपयोग गर्नुपर्ने बताए ।
उनले भने, ‘विदेशमा सिकेको सीप र कमाई नेपालमा लगाउन पर्छ । देश निमार्णमा जुट्न विदेश गएका युवाहरू स्वदेश फर्कनुपर्छ ।’ उनले छिमेकी देशहरूले प्रगति गर्नुमा राजनीतिक स्थायीत्व भएको बताए ।
उनले भने, ‘तर विडम्बना नेपालमा समीकरण फेरिए, प्रधानमन्त्री फेरिए, मुख्यमन्त्री फेरिए हिसाबकिताब छैन । अब नेपालमा जनमत विभाजन गर्ने होइन, ध्रुवीकरण गरेर जानुपर्छ । बलियो राष्ट्रिय शक्ति निमार्ण गर्नुपर्ने समय आएको छ । मिसन २०८४ मा राजनीतिक स्थायित्व ल्याउनुपर्छ ।’
एमालेले देशमा स्थायित्व ल्याउने पनि उनले बताए । उनले भने,‘ भिजनरी नेतृत्व एमालेसँग छ । युवाहरू एमाले हुँदासम्म निराश हुनुपर्दैन । युवाहरूको सुरक्षित भविष्यका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’




